२४ माघ, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेसँगै भोलिदेखि मतदाता नामावली संकलन बन्द हुने भएको छ । स्थानीय तहको निर्वाचन हुने भए पछि निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन बन्द गर्ने भएको छ ।
चुनाव घोषणा भएकोले आयोगले निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही बमोजिम कार्य अगाडि बढाउने छ । यता, आयोगले आशन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ ।
सोमबार आयोगका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गर्नुहुँदै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्चिरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको हो ।
मन्त्रालयमार्फत गरेको पत्राचारमा आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिव दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाई उक्त विवरण एकीकृत गरी २०७८ माघ मसान्तभित्र अनिवार्य रुपमा उपलब्ध गराउन आयोगले भनेको छ ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक-एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन सबै स्थानीय तहहरुलाई त्यहाँबाटै पत्राचार हुन समेत अनुरोध गरिएको छ ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ गते सकिँदै छ ।