आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

गोकर्णेश्वर खबर२१ माघ २०७८, शुक्रबार ०९:१४ मा प्रकाशित (२ साल अघि) १६८ पाठक संख्या

२१ माघ, काठमाडौं । केही दिन देखि मौषमी मिजाज बदलिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार आज २४ घन्टामा देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने उनीहरुले जानकारी दिए । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ र असिना पर्ने तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

गएराति परेको वर्षाले काठमाडौँ उपत्यकाका फूल्चोकी, शिवपुरी, चन्द्रागिरीलगायतका स्थानमा हल्का हिमपात भएको छ । ती स्थान अहिले हिउँले सेताम्मे देखिएका छन् ।

मौसमविद्हरुका अनुसार शनिबार दिउँसो देशका प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत छ।

आइतबार दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।