आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

प्रधानमन्त्रीले प्रचण्ड र माधव नेपालसँग मागे एमसीसीमा गर्नुपर्ने संशोधनका बुँदा

गोकर्णेश्वर खबर२० माघ २०७८, बिहीबार ०९:५० मा प्रकाशित (२ साल अघि) १५७ पाठक संख्या

२० माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा गर्नुपर्ने संशोधनका बुँदा के-के छन् आफूलाई लेखेर दिन माग गरेका छन् ।

तीन शीर्ष नेताहरुबीच बुधबार बिहान भएको बैठकमा प्रचण्ड र नेपालले एमसीसी जस्तातस्तै संसदबाट पारित गर्न नसकिने अडान लिएपछि प्रधानमन्त्री देउवाले उनीहरुसँग संशोधन गर्नुपर्ने बुँदा लेखेर दिन माग गरेका हुन् ।

शीर्ष नेताहरुबीच भेटमा सत्ता गठबन्धन आगामी तीन तहको निर्वाचनसम्मै लानेबारे प्रतिबद्धता व्यक्त भएको समेत नेताहरुले बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच मतैक्य भएको छैन। दलैपिच्छे फरक–फरक धारणाले गर्दा एमसीसीले पाँचदलीय गठबन्धनको भविष्य संकटमा परेको विश्लेषण गरिँदै आएको छ ।

संसदबाट एमसीसी पारित गराउन प्रधानमन्त्री देउवालाई अहिले चौतर्फी दबाब बढेको छ। तर माओवादी केन्द्र र एकीकृत समाजवादी भने संशोधनविना एमसीसी पारित गर्ने पक्षमा छैनन्। माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानपछि प्रधानमन्त्री देउवा एमसीसीमा संशोधन गर्ने पक्षमा देखिएका छन् ।