काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् ।
नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’
मतदाताले गठबन्धन नभई अनुभव, लगनशीलता र इमान्दारितालाई हेर्नु नै आफ्नो जीतको आधार भएको उनी बताउँछन् । ‘म विवादित मान्छे पनि थिइनँ, समकालीन साथीहरु पनि गाउँगाउँमा हुनु भएकाले जित्छु भन्ने विश्वास थियो’ शेर्पाले भने, ‘मैले विगतमा साबिक नाम्चे गाविसको अध्यक्ष र पार्टीका विभिन्न भूमिका रहेर पुर्याएको योगदानको कदर भएको छ ।’
को हुन् शेर्पा ?
सोलुखुम्बुको नाम्चे बजारका शेर्पा २०४६ सालबाटै नेकपा एमालेसँग जोडिएका व्यक्ति हुन् । शेर्पाले ‘नेपाल ल क्याम्पस, काठमाडौं’मा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यका रुपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेर एमालेसँग जोडिएका थिए ।
२०५७ सालमा उनी नाम्चे गाविसको अध्यक्ष भए । पछि पार्टीको जिल्ला कमिटी सदस्य हुँदै पर्यटन विभागको केन्द्रीय सदस्य पनि भए । उनको नाम्चे बजारमा होटल व्यवसाय पनि छ । गाविस अध्यक्षको रुपमा कार्यकाल पूरा गरेपछि उनी सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा चार कार्यकाल अध्यक्ष भए ।
उनलाई एमाले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसदको उम्मेवारको सूचीमा पनि राखेको थियो । तर उनी सिफारिसमा परेनन् ।