आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

डब्ल्यूएचओले भन्यो-‘ओमिक्रोनलाई सामान्य ठान्नु भ्रमपूर्ण छ’

गोकर्णेश्वर खबर५ माघ २०७८, बुधबार १२:४३ मा प्रकाशित (३ साल अघि) १४२ पाठक संख्या

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड १९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताएका हुन् । ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नु समेत गलत रहेको उनको भनाइ थियो ।

ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो । ‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ’ उने भने, ‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ र सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।’

गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनीसमेत दिएका छन् । विश्व नेतालाई चेतावनी दिँदै उनले भने, ‘संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ(नयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक छ ।’

त्यस्तै, गेब्रेयससले पत्रकार सम्मेलनमा ओमिक्रोनका कारण गत हप्तामात्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको पनि बताए । कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको पनि उनको भनाइ थियो ।

युरोपका केही मुलुकमा दैनिक कोभिड संक्रमण हालसम्मकै उच्च बिन्दुमा पुगेका बेला गेब्रेयससको पछिल्लो भनाइ आएको हो ।

ओमिक्रोन सक्रिय भेरियन्टको रुपमा देखा परेयता युरोपमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार फ्रान्समा अहिलेसम्मकै धेरै अर्थात् चार लाख ६४ हजार ७६९ जना नयाँ संक्रमित थपिएका छन् । जुन सोमबार थपिएका एक लाख २ हजार १४४ भन्दा झण्डै पाँच गुणाले बढी हो ।

इटलीमासमेत मंगलबार दुई लाख २८ हजार १७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जबकि त्यहाँ अघिल्लो दिन ८३ हजार ४०३ जना नयाँ संक्रमित थपिएका थिए ।

यता डेनमार्कमा पनि हालसम्मकै धेरै संक्रमित थपिएका छन् । त्यहाँ मंगलबार ३३ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।