आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं उपत्यकामा आजदेखि २५ भन्दा बढी भेला हुन रोक

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार ०९:०० मा प्रकाशित (३ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेको हो। २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १८ बुँदे आदेश पनि जारी गरिएको छ।

आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ।

सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ।

यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ।

अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनले भनेको छ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ। यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ।