आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

माओवादी महाधिवेशनको छैटौं दिन : आज नेतृत्व चयन प्रक्रिया सुरु

गोकर्णेश्वर खबर१६ पुष २०७८, शुक्रबार ०९:५४ मा प्रकाशित (२ साल अघि) ३३१ पाठक संख्या

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा शुक्रबार नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ ।​ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको छ ।

बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिंखडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिस्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाईंले निष्कर्ष प्रस्तुत गरे ।

समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल मगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट सुरेश आलेमगर, समूह ९ लुम्बिनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश २ बाट भवानी थापाले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।