१४ पुष, काठमाडौं । पश्चिम नेपालमा भारी हिमपात भई जनजीवन प्रभावित भएको छ । गलबार देखि पश्चिमको हुम्ला, बैतडी, बझाङ लगायतका जिल्लामा व्यापक हिमपात भएको छ । यसैगरी पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।
हुम्लाको तापक्रम माईनस १२ डिग्री
हुम्लामा भारी हिमपातले तापक्रम माईनस १२ डिग्री पुगेको छ । रातिदेखि जिल्लाभर भारी हिमपात भएको छ । हिमपातले चिसो बढेर जनजीवन प्रभावित भएको छ ।
पशुवस्तु गोठबाट निकाल्न सकिने अवस्था रहेको छैन । स्थानीय लोकेन्द्र रावतले रातिबाटै धेरै हिमपात भइरहेको बताउनुभयो । उहाँले हिउ पर्ने क्रम जारी रहेको बताउनुभयो । यसवर्षको तेस्रो पटकको हिमपात भए पनि यो ठूलो हिमपात भएको छ ।
हिमपातले बैतडी–बझाङ सडक बन्द
हिमपातका कारण बैतडी–बझाङ सडक अवरुद्ध भएको छ । बैतडीको खोड्पे, अनारखोली, श्रीभावर, गर्जे, सतबाँझ, देहिमाडौं, ग्वाल्लेक, धर्मघर लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
हिमपातका कारण बैतडीको सिगास गाउँपालिका जाने बाटो बन्द भएको छ । गर्जेमा दुई फिटभन्दा बाक्लो हिमपात भएको छ । हिमपातका कारण दशरथचन्द नगरपालिका–२, देहिमाडौंबाट ग्वाल्लेक जाने ग्रामीण सडकमा पनि सवारी साधन चल्न सकेका छैनन् ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा पनि बाक्लो हिमपात
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । मङ्गबारदेखि सुरु भएको वर्षासँगै हिमाली क्षेत्रमा बाक्लो हिमपात हो । मङ्गलबार साँझदेखि सुरु भएको वर्षा अहिलेसम्म निरन्तर जारी रहेको र हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी छ ।
स्थानीयका अनुसार उच्च डाँडाहरुमा बाक्लो हिमपात भएको छ भने जिल्ला हिमाली बस्तीहरु ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा हिउँ परेको छ । स्थानीय तेन्जिङ वालुङका अनुसार ओलाङ्चुङगोलामा झण्डै एक फिटसम्म हिउँ थुप्रेको छ भने बुधबार बिहान पनि हिउँ परिरहेको छ ।
यस्तै, घुन्सा र फलेमा पनि बाक्लो हिउँ परेको छ । जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा (४,२०० मिटर) मा पनि निक्कै बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् ।
हाल वर्षा र हिमपातको क्रम जारी रहेकाले हिमाली क्षेत्रभन्दा अझ तलसम्म हिउँ आइपुग्ने सम्भावना बढेको स्थानीयको भनाइ छ । तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि निक्कै बाक्लो हिउँ परेको छ । पाथीभरा क्षेत्रको फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतका अनुसार पाथीभरा धाम क्षेत्रमा करिब दुई फिटसम्म हिउँ थुप्रेको जानकारी दिनुभयो । उहाँका अनुसार फेदीबजार, काफ्लेपाटी र देउरालीसम्म नै हिउँ परेको छ ।