आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

कप्तान लामिछानेले भने- ‘टिमको ढोका सबैका लागि खुला रहनेछ’

गोकर्णेश्वर खबर४ पुष २०७८, आईतवार १९:५२ मा प्रकाशित (३ साल अघि) १२४ पाठक संख्या

काठमाडौं । सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन्। गत बुधबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो।

साथै क्यानले दीपेन्द्रसिंह ऐरीको उपकप्तान पद पनि खोसेको थियो। खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि व्यक्त गरेका ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुवाती ६ महिना सम्झौताबापत प्राप्त हुने तलब नदिने पनि निर्णय पनि गरेको थियो।

यो निर्णयले विवाद निम्तिरहेको बेलमा सन्दीपले कप्तान भएकोमा खुसी व्यक्त गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु। म क्यान, नेपाली जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु।

सन्दीपले टिममा सबैका लागि ढोका खुला रहने पनि लेखेका छन्।

‘टोलीका रूपमा हाम्रो योजना सरल रहनेछ। नेपाललाई क्रिकेट विश्वको नक्सामा प्रभावकारी रूपमा राख्ने। यो हुनको लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं। यस टोलीको ढोका सबैका लागि खुला रहनेछ।