आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

काँग्रेस पदाधिकारीको मतपरिणाम सार्वजनिक, २ बाहेक सबै नयाँ

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार ०८:३१ मा प्रकाशित (२ साल अघि) ९८ पाठक संख्या

३ पुष, काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । केन्द्रीय सदस्यको मतगणना बाँकी हुँदा पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको छ । देउवा नेतृत्वको १३ सदस्यीय पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो ।

काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीको टिममा १३ पदाधिकारीमा दुई जनाबाहेक सबै नयाँ अनुहार हुनुहुन्छ । निर्वाचित पदाधिकारीमध्ये सभापति देउवा र उपसभापति खड्का मात्रै यसअघि पदाधिकारीमा हुनुहुन्थ्यो ।

विभिन्न प्यानलमा निर्वाचन सम्पन्न भए पनि पदाधिकारीमा भने सबैको प्रतिनिधित्व देखिएको छ । दोस्रो चरणको निर्वाचनबाट पार्टी सभापतिमा देउवा निर्वाचित हुँदा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

त्यसैगरी काँग्रेस महामन्त्रीमा चर्चित युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ ।