नेपालमा किसानहरुको समस्या धेरै छ । विशेष गरी निर्वाहमुखी खेति किसानीबाट जीविकोपार्जन गर्ने देशको आधा भन्दा धेरै जनसंख्याको रोजीरोटीको व्यवस्थापन गर्ने साना किसानको समस्या धेरै छ ।
एकातिर, कृषि विकासको लागि आवश्यक श्रम संख्यामा उपलब्ध भए पनि आधुनिक र व्यवसायिक कृषिका लागि आवश्यक दक्ष जनशक्ति, पूँजी, आधुनिक कृषि औजार, बजार आदीको समस्या रहेको छ ।
अर्कोतिर, कृषि विकासका लागि सरकारले दिने सुविधाहरु बारे किसानहरुलाई जानकारी छैन । थोरै जानकारी भए पनि आवश्यक प्रक्रिया र डकुमेण्टेसनको बारेमा ज्ञान नहुँदा लक्षित वर्गका साना किसानहरुले सहुलियत ऋण, कृषि औजार, वीउवीजन र व्यवसायिक खेतिका लागि आउने अनुदानबाट फाईदा लिन सकेका छैनन् ।
सरकारका सहुलियत र अनुदान पहँचवालाले पचाउने र उत्पादित वस्तु र बजारसँग प्रतक्ष्य पहँच नहुँदा फाईदा बिचौलिया, दलालहरुले खाने, वास्तविक किसान मर्कामा पर्ने गरेका छन् । दुःख र घाटा किसानलाई हुने, फाईदा टाठाबाठा र बिचौलियाले खाने अवस्था रहेसम्म देशमा न त किसानको हित हुन्छ । न त नेपालको कृषिको विकास र आधुनिकीकरण नै सम्भव छ ।
तसर्थ, किसानहरुलाई जागरुक बनाउँदै, संगठित गर्दै, सरकारका कृषि नीति, योजना, कार्यक्रमको सही जानकारी किसानसम्म पुर्याउने र बास्तविक किसानहरुलाई गाउँघरमै गएर सरकारले दिने सुविधाहरु कसरी लिन सकिन्छ भन्ने बारेमा बुझाउन आवश्यक छ ।
कृषिको विकास र आधुनिकीकरणका लागि सहि सुचना किसानले पाउने, किसानका लागि छुट्याईएका सुविधा साना किसानले गाउँ घरमै बसेर लिन सक्ने, कृषि औजार, सहुलियत, अनुदान आदी वितरणमा किसान समुुहहरु परिचालन गर्ने हो भनें सरकारको लगानी वास्तविक किसानले पाउने र अन्य बीचौलिया, दलालहरुले सररकारको सुविधा दुरुपयोग गर्ने संभावना न्युन हुनेछ । जसले नेपालका किसानको हित र नेपालमा कृषिको आधुनिकीकरण र विकासमा टेवा समेत पुग्ने थियो । (लेख/विचार : रविराज रिमाल)