आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

वैदेशिक रोजगारीमा अवाञ्छित गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार ०८:३२ मा प्रकाशित (२ साल अघि) १२५ पाठक संख्या

१ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए । मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने दृढता व्यक्त गर्दै वैदेशिक रोजगारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको जानकारी गराए ।

उनले वैदेशिक रोगजारीमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवाला सबै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौती समाधान गर्न सकिने बताए । सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसङ्गति र गैरकानूनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी गठन गर्ने योजना रहेको बताए । रासस