१ पुस, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नेता डा शेखर कोइराला ‘प्यानल’को उम्मेदवार थिए । उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित भएका छन् ।
सभापति देउवा ‘प्यानल’ कै उनले एक हजार ९०६ मत प्राप्त गरेका छन् । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा. चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरिन् ।
बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइराला समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।
खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । अन्तिम मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी नै छ । धनराज गुरुङले विजयकुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेको जानकारी प्राप्त भएको छ ।
गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।