२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डले साँठगाँठ गरेको आरोप लगाएका छन् । ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच जनयुद्धकालीन समयमा साँठगाँठ भएको दावी गरेका छन् ।
ओलीले दावि गर्दै भनें– ‘माघ १९ मा पार्टीहरूको कुनै मतलबै छैन । आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाए’, बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले भने, ‘ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर सहमतिका साथ त्यो उपद्रो भएको थियो ।’
उनले प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको समेत ओलीले जिकिर गरे । ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो’ ।
ओलीले जनयुद्धका क्रममा लोकतान्त्रिक शक्तिहरु रुकुम रोल्पा जान नसक्दा ज्ञानेन्द्रले सो ठाउँमा कसरी अभिनन्दन कार्यक्रम चलाए भनेर प्रश्न समेत गरे ।