२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार शेर बहादुर देउवाले २ हजार ७ सय २४ मत प्राप्त गरेका छन् ।
कुल खसेको ४ हजार ५ सय ७४ मत मध्ये देउवाले सो मत पाएका हुन् भनें उनका प्रतिश्पर्धी उम्मेदवार डा. शेखर कोइरालाले १८१७ मत ल्याएका छन् । देउवा ९०७ मतान्तरका साथ सभापतिमा विजयी भएका हुन् । ३३ मत बदर भएको छ ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुनः मतदान भएको हो । दिउँसो साढे ३ बजेपछि झन्डै ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् ।
महाधिवेशनमा कूल ४ हजार ७४३ मतदाता थिए । सोमबारको मतदानमा भने ४ हजार ६७९ प्रतिनिधिले मतदान गरेका छन् ।