आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

अब शिक्षकहरु राजनीतिक दलको उम्मेदवार बन्न नपाउने

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ११:०८ मा प्रकाशित (३ साल अघि) ११६ पाठक संख्या

२८ मंसिर, काठमाडौं । अब शिक्षकहरु राजनीतिक दलको उम्मेदवार बन्न नपाउने भएका छन् । सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘हाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पद ग्रहण गरेका प्रत्यर्थी विपक्षीलाई सोभन्दा माथिल्लो तहको अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्य नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।’

आदेशमा राष्ट्रसेवक शिक्षकलाई प्रचलित कानुनले राजनीतिमा भाग लिन रोक लगाएको र भाग लिएमा सजायसमेत हुने व्यवस्था गरेको र सो कार्य प्रथम दृष्टिमै कानुनको व्यवस्थाविपरीत भएको ठहर गरेको छ ।