आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

देउवाले पाएनन् बहुमत, सभापति पदमा फेरी चुनाव हुने

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ०९:२७ मा प्रकाशित (२ साल अघि) १४८ पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको मतदानमा सभापतिका उम्मेदवार शेर बहादुर देउवाले २२५८ मत पाएका छन् । सभापतिमा ५० प्रतिशत मत कटाउनु पर्ने भएकोले अब पुनः मतदान हुने भएको छ । अब देउवा र निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालाबिच फेरी चुनाव हुनेछ ।

दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।

हिजो भएको मतदानको मंगलबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।