आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

हामी हरेक कारोबार नगदमा गर्छौं, उधारो गर्दैनौं : मन्त्री आले

गोकर्णेश्वर खबर२५ मंसिर २०७८, शनिबार १८:४८ मा प्रकाशित (२ साल अघि) ४४२ पाठक संख्या

पोखरा । पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सबै कारोबार नगदमा गर्ने बताएका छन्।

पोखराको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीले राखेको माग पूरा गरेको दाबी गर्दै मन्त्री आलेले उक्त कुरा बताएका हुन्।

‘म पोखरा आउँदा पञ्चासे, बराह मन्दिर, विन्ध्यावासिनी मन्दिर लगायतमा बजेट माग गरिएको थियो, काठमाडौं जाने बित्तिकै बजेटको व्यवस्था गरेर टेण्डर प्रक्रियामा गएको छ,’ उनले भने, ‘हामी हरेक कारोबार नगदमा गर्छौं, उधारोमा गर्दैनौं।’

१८ औं अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रम बोल्दै मन्त्री आलेले पर्यटन क्षेत्रको विकासमा सरकार लागिपरेको दाबी गरे।

पोखरा भन्ने बित्तिकै मान्छेको मन प्रफुल्ल हुने भन्दै उनले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकार तयार रहेको बताए।

‘तपाईंहरू सबै कागजात मिलाएर आउनुहोला, पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न समस्या छैन,’ उनले भने,‘पर्यटनको राजधानी घोषणा पनि नगदानगद हुन्छ, उधारो हुँदैन।’

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको जीर्ण छानो मर्मत सम्भार गर्न काठमाडौं फर्केर बजेटको व्यवस्था गर्ने समेत उनले आश्वासन दिएका छन्।

संग्रहालयका निर्देशक निर्मला न्यौपानेले जीर्ण छानो मर्मत सम्भार गर्न बजेटको व्यवस्था मिलाइदिन मन्त्री आलेसँग आग्रह गरेकी थिइन्।