काठमाडौं । कांग्रेस नेता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी पदमा दर्ता गराउने भएका छन्।
उनी उम्मेदवारी दर्ता गर्न जाँदैछन्। उनी एक्लैले महामन्त्री पदका लागि उम्मेदवारी दिन लागेका हुन्। उनी सभापतिको उम्मेदवारी दिएका नेता प्रकाशमान सिंहको समूहमा रहेको दाबी गरिएको छ।
यसअघि गगन थापा र शर्माले एउटै टिमबाट महामन्त्री उठ्ने दाबी गरिएको थियो। तर, शर्मा अहिलेसम्म कसैको टिममा छैनन्।
पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि नयाँ टिम बनाएर महामन्त्री उठ्न लागेका थिए।
केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिमा उठाएर उनकै टिमबाट महामन्त्रीमा उठ्ने शर्माको योजना थियो। तर, शेखरले गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्री बनाउने भएपछि उनी त्यस टिममा अटाएनन्।
उनीनिकट एक केन्द्रीय सदस्यले सबै टिमसँग छलफल भइरहेको बताए। उम्मेदवारी दर्ता गराइसकेपछि कुनै प्यानलमा बस्ने नबस्नेबारे छलफल गरेर टुंगो लगाइने बताए।
‘प्रकाशमानसँग पनि कुरा भइरहेको छ, त्यही टिममा पनि हुनसक्छ,’ उनले भने, ‘तर, छलफलपछि उहाँले अन्तिम निर्णय लिनुहुन्छ।’