आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

कांग्रेस अधिवेशन उद्घाटनमा देखिएका १० रोचक दृश्यहरु

गोकर्णेश्वर खबर२४ मंसिर २०७८, शुक्रबार २१:५४ मा प्रकाशित (२ साल अघि) ११३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन कार्यक्रमको मञ्चमा केही रोचक दृश्यहरु देखिएका छन् । तोकिएका समयभन्दा १ घण्टा ढिला शुरु भएको उद्घाटन कार्यक्रम २ बजे शुरु भएको थियो ।

उद्घाटन कार्यक्रमका राजनीतिक दलहरु बीच चर्को आलोचना नभए पनि एकअर्कालाई घोचपेच भएको थियो । नेताहरूबीच शुभकामना मन्तव्य दिने क्रममा विगतमा जस्तो चर्को घोचपेच नभए पनि केही रोचक दृश्यहरु भने देखिएका छन् ।

कांग्रेस अधिवेशन उद्घाटनमा देखिएका १० रोचक दृश्यहरु

१) कार्यक्रममा सबैभन्दा अन्तिममा एमाले अध्यक्ष केपी ओली मञ्चमा पुगेका थिए । महाधिवेशनको उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पनि पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पुगेका थिए ।

२) कम्युनिष्ट पार्टीका नेताहरुको सम्वन्धमा आएको तिक्तताका कारण नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकिकृत समाजावादी)का अध्यक्ष माधव कुमार नेपाल र एमालेका अध्यक्ष केपी ओलीले कसैले पनि सम्वोधनका क्रममा एक अर्काको नाम लिएनन् ।

३) भारतबाट आएका भाजपा नेता हर्षवर्धनलाई हरिवर्धन भनेर पनि सम्बोधन गरिएको थियो भनें भाजपा नेता हर्षवर्धन र मालेका महासचिव सीपी मैनालीले लामो भाषण गरेपछि भाषण छोट्याउन पोडियममै पुगेर चिट दिईएको थियो ।

४) राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेतालाई जनताले चोर भन्न थालेको बताउँदा दर्शक दीर्घामा ताली बजेको थियो । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतालाई कसैले चोर नभनेको भन्दा दर्शक दिर्घाबाट प्रचण्डको आशय विरुद्ध तालि बजेको थियो ।

५) उद्घाटन सत्रमा बोलेका प्रचण्ड, नेपाल र ओलीबाहेक सबैजसो दलका नेताले सर्वोच्च अदालतको विवाद चाँडो टुंगिनुपर्ने बताए । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताले भने यो विषयमा एक शब्द पनि बोलेनन् ।

६) कार्यक्रममा सवैभन्दा छोटो भाषण जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले गरिन् । रमाईलो र सँधै लामो भाषण गर्ने ओलीले केही प्रशंगमा हसाए भनें भाषण गर्ने मञ्च आफूलाई कमी नभएको भन्दै तुलनात्मक रुपमा छोटो भाषण गरे ।

७) लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो भाषणमा मधेशीको अधिकारको आन्दोलन बाँकी रहेको पटक पटक दोहोराए । साथै, आफ्ना केही माग सरकारमा रहँदा ओलीले पूरा गरेको भन्दै एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिए ।

८) जसपा अध्यक्ष उपेन्द्र यादवले पूरै समय लिखित भाषण गरे ।

९) भाषणका क्रममा ओलीले कांग्रेससँग मिलेर जान सक्ने आशय बताएका थिए भनें कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले ओली प्रवृत्तिलाई परास्त गर्न एक पटक सभापतिमा जिताउन आग्रह गरेका थिए । उनले आफ्नो नेतृत्वमा ३ तहकै सरकार कांग्रेसको नेतृत्वमा बन्ने बताएका थिए ।

१०) ओलीले भाषण गर्दै गर्दा भृकुटीमण्डप क्षेत्रमा बिजुली गएपछि केही समय बिजुली कुरेका ओली पछि देउवालाई बोल्न माइक छोडें भन्दै कुर्सीमा बस्न गए । केही समय पछि बत्ती आएपछि प्रवक्ता शर्माले पुनः बोलाए पछि ओलीले फेरी छोटो मन्तव्य राखेका थिए ।