आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

कांग्रेस नेताहरुलाई प्रचण्डले भने-‘एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु हुन्छ,त्यो बाटोमा नलगौं’

गोकर्णेश्वर खबर२४ मंसिर २०७८, शुक्रबार १७:४५ मा प्रकाशित (२ साल अघि) १७३ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’

राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नैपर्ने हुन्छ । ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो’ प्रचण्डले भने । २०४६ सालको जनआन्दोलन, बृहत शान्ति सम्झौता र ०६२र६३ को सफलता एकताको परिणम भएको भन्दै उनले एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु हुने बताए ।

आम निर्वाचनबाट पार्टी ठूलो भएपछि मनोगतवाद र अहंकार देखिने गरेको भन्दै प्रचण्डले आफूलाई २०६४ सालको संविधानसभा निर्वाचन जित्दा पनि त्यस्तै अनुभव भएको खुलाए ।

‘पार्टी ठूलो भएपछि मनोगतवाद, अहंकार र कुनै न कुनै दम्भ आउने र जनतासँगको सम्बन्ध कमजोर हुने तीतो अनुभव मैले गरेको छु’ प्रचण्डले भने ।