आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

जापानमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार १७:५८ मा प्रकाशित (३ साल अघि) १६६ पाठक संख्या

१४ मंसिर, काठमाडौं । जापानमा नयाँ कोरोना भेरियन्टका एक संक्रमित फेला परेका छन् । नामिबियाबाट आएका एक पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

मंगलबार ३०(४० उमेरका पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जापान टाइम्सले जनाएको छ । जिन सिक्वेन्सिङपछि संक्रमण पुष्टि भएको समाचारमा उल्लेख छ ।

संक्रमित व्यक्ति नामिबियाका कूटनीति रहेको र उनी आइतबार नामिबियाबाट टोकियो आएको जापानका स्वास्थ्यमन्त्री शिगेयुकी गोटोले सञ्चारकर्मीलाई बताए । संक्रमित पुरुषको सम्पर्कमा आएको आशंकामा सँगै आएका ७१ जना यात्रुको परीक्षण भइरहेको र १० दिन क्वारेन्टाइनमा राखिने गोटोको भनाइ थियो ।

विभिन्न मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि सोमबार मात्रै जापानले विदेशी यात्रुलाई १ महिनासम्म प्रवेशमा रोक लगाएको थियो ।

शुरुमा ओमिक्रोन फेला परेको ९ वटा मुलुकमध्ये नामिबिया पनि पर्छ । हालसम्म उक्त भेरियन्ट जापानबाहिर १७ मुलुकमा फेला परेको एनएचके समाचार माध्यमले जनाएको छ ।

तर यो भेरियन्टको संक्रामक क्षमता, विद्यमान खोपको प्रभावकारिता र उत्परिवर्तनको प्रकृतिबारे अझै प्रस्ट भइसकेको छैन ।