आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार ०७:०४ मा प्रकाशित (३ साल अघि) २०६ पाठक संख्या

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए ।

कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १०औँ महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ ।

यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

मन्त्रालयको पत्रपछि २३ देखि २५ अक्टोबरका लागि तय गरिएको १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिब १०० भन्दा बढी सदस्यहरुले आ–आफ्ना भनाइ राखेका थिए ।

अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा.बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघका महासचिव डा.हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेस हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक भइसकेका छन् ।

संघको १०औँ महाधिवेशन तथा विश्व सम्मेलनका लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजकसहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।