काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयदशमीको अवसरमा गुरू टीकाराम घिमिरेबाट टीका ग्रहण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले श्रीमती आरजु देउवा र छोरा जयवीर देउवालाई दसैँको टीका लगाइदिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कोभिड–१९ महामरीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीलाई टीका लगाइदिएका थिए ।
योपटक महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवालेले सर्वसाधारणलाई टीका लगाइदिएनन् । कोभिड–१९ महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरिएको हो ।