आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र- पूर्व प्रधानसेनापति कटवाल

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार ०७:३८ मा प्रकाशित (३ साल अघि) १६८ पाठक संख्या

३१ भाद्र, काठमाडौं । हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक एवं पूर्व प्रधान–सेनापति, महारथी (अ.प्रा.) रुक्माङ्गद कटवाल हाल अमेरिकाको भ्रमणमा छन् ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको भाद्र ३ गते विधिवत उद्घाटन भएपश्चात् अमेरिका भ्रमणमा रहेका कटवालले अमेरिकामा रहेका हिन्दूहरूलाई यही भाद्र २८ गते नर्थ क्यारिलिनामा सम्बोधन गर्दै भनेका छन् “नेपाल सनातन–कालदेखि एउटा विशिष्ट हिन्दू जीवन पद्धतिमा आफूलाई स्थापित गर्दै आएको छ । र, त्यो जीवनपद्धति नै नेपालको संस्कृति हो ।”

सामाजिक, सांस्कृतिक एवं आध्यात्मिक आधारमै पनि नेपाल हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै उनले भने, “लाखौँ मन्दिरहरू, देवालय, शक्तिपीठ, पवित्र कुलपर्वत- हिमालयले सुशोभित राष्ट्रका पावन नदीहरूको कलकल निनादसँगै यहाँका नागरिकहरूले पनि निरन्तर ‘सर्वे भवन्तु सुखिनः’ भनी विश्व कल्याणको विचार प्रवाह गरिरहेका छन् । यो ऋषिभूमि हो, वेदभूमि हो ।

हाम्रा ऋषि महर्षिहरूले वसुधैव कुटुम्बकम् भनी विश्वलाई एउटा परिवारका रूपमा हेर्ने दृष्टिकोण दिए ।” विश्वमा अनेकौ इसाई र मुसलमान देश भइरहँदा नेपाललाई विश्वकै १.३ अर्ब हिन्दूले गर्व गर्नसक्ने विश्वको एकमात्र हिन्दूराष्ट्र बनाउन विश्वका हिन्दूहरू एकजुट हुनपर्ने र त्यसका लागि सबै राष्ट्रले सहयोग पनि गर्नुपर्ने उनको आग्रह रहेको थियो । हिन्दू स्वयंसेवक अमेरिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजक नेपालको कपिलवस्तु घर भइ हाल अमेरिका बसोवास गदै आएका डा. दशरथ लोहारले गरेका थिए ।