आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

इकाई सभापतिमा उम्मेदवारी दिने राम मानन्धरको घोषणा

गोकर्णेश्वर खबर१५ भाद्र २०७८, मंगलवार २१:५२ मा प्रकाशित (३ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले नेपाली कांग्रेसको इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१२ औं महाधिवेशन देखि नेपाली कांग्रेसमा सक्रियताका साथ लागेका मानन्धरले गोकर्णेश्वर नगरपालिकाको  वडा संयोजन पछि इकाईको सह संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् ।

उनले इकाई कमिटी र सबै भातृसंगठनलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीका क्रियाशिल, अग्रज, शुभचिन्तकसँग सल्लाह गरेर अगाडी बढेको गोकर्णेश्वर खबरलाई बताए ।

वडा अध्यक्षको रुपमा वडाको सन्तुलित विकासमा आफूले गरेको योगदानलाई हेरेर सबैबाट सहयोग गर्ने प्रतिबद्धता आफूले पाएको मानन्धरले बताए । उनले कोभिड महामारीमा आफूले जनतालाई गरेको सहयोग र आफू विरामी हुँदा पनि जनताको पक्षमा गरेका कामहरुको मुल्याङ्कन गरी सक्रिय सहयोग रहने बचन पाएको बताए ।

उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको तीन तहको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।