काठमाडौं । आज शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रचण्डको स्वकीय सचिव गंगा दाहालका अनुसार दुई जनाबीच अपूरो मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेबारे छलफल भएको छ।
‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ,’ दाहालले भनेकी छन्, ‘भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ।’
गठबन्धन सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। खासगरी आफूलाई विश्वासको मत दिने तत्कालीन एमालेको माधव नेपाल पक्षलाई उनले पर्खेका हुन्।
नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गरेसँगै अब मन्त्रिपरिषदलाई पूर्णता दिने प्रक्रिया अघि बढेको हो। नेपालको दल पनि सरकारमा सहभागी हुने बताइएको छ।