आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल पक्षका जिल्ला सभापतिको धर्ना

गोकर्णेश्वर खबर८ भाद्र २०७८, मंगलवार १२:०४ मा प्रकाशित (३ साल अघि) ३७३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् ।

सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।

नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए ।

‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिंदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन तबसम्म हाम्रो धर्ना कार्यक्रम जारी रहन्छ,’ उनले भने । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।