काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अहिले पनि एमाले एकताकै पक्षमा रहेको बताएकी छन्।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्यले पार्टी एकताका लागि जेठ २ मा गठित कार्यदलले असार २७ गते जुटाएको १० बुँदे सहमति कार्यान्वयनमा लैजानेबित्तिकै सबै कुरा मिल्ने पनि उल्लेख गरिन्।
पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनमा लाने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्नेबित्तिकै एमाले एकजुट हुन्छ, उनले नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा भनिन्।
शाक्यले एमाले फुटिसकेको अवस्थामा पनि पार्टी एकता कमजोर बनाउने गतिविधि कसैबाट नहोस् भन्दै नेता कार्यकर्तालाई ध्यानाकर्षण गराएकी छन्।
उनले आफू बागमती प्रदेशमा ओली र वरिष्ठ नेता नेपाल दुवैको समर्थनमा मुख्यमन्त्री बनेको पनि बताएकी छन्।
म अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएकी हुँ, उनले भनिन्, मैले नेता नेपाललाई धोका दिएको भन्ने गलत सन्देश दिएर पार्टी एकतालाई कमजोर बनाउने काम भइरहेको छ। कसैले त्यसो नगर्नुहोला।
शाक्यले अहिले पनि आफू पार्टी एकताकै पक्षमा रहेको उल्लेख गरेकी छन्। उनले मुख्यमन्त्री पाउँदैमा कुनै समूह नफेरेको पनि बताएकी छन्।
म मुख्यमन्त्री बन्नु दुवै नेताको साथ र सहमति छ। अनि सोधिन्छ, अष्ट त के–के भयो, के–के भनेर। लामो समय एउटा नेतालाई साथ दिने, अनि मुख्यमन्त्री पाएपछि अर्कोतिर जाने भन्नुभयो, यो त गलत कुरा हो, उनले भनिन्, गलत सन्देश दिने काम नगर्नुस्। जे छ, त्यही कुरा बाहिर आए पार्टी एकतामा बल मिल्छ।
शाक्यले आफूहरु दृढताका साथ एकताको पक्षमा रहेको बताइन्। मलाई दृढ विश्वास छ, केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्नेछ। त्यसका लागि १० बुँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन हाम्रो नेतृत्वले मन फराकिलो बनाउनुपर्छ, उनले थपिन्, नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भन्नुभयो भने स्थिति उथलपुथल हुन्छ। त्यसो भएकाले पार्टी कमजोर बनाउने काम कसैले पनि गर्नु हुँदैन।
सम्बोधनका क्रममा मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको सल्लाहमा प्रदेश सरकारको काम अघि बढाउने प्रतिवद्धता जनाइन्।
उनले एमालेले मात्रै मुलुकलाई अघि बढाउने भएकाले यसलाई एक बनाएर अघि बढ्नु एक मात्रै विकल्प भएको पनि उल्लेख गरिन्।