आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

बागमती प्रदेश प्रमुखबाट प्रसाई हटाइए,माधव निकट यादवचन्द्रलाई नियुक्त गर्न सिफारिस

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार २०:१५ मा प्रकाशित (३ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं । गठबन्धन सरकारले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई हटाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रसाईलाई हटाउने निर्णय गरेको हो।

ओलीको पालमा नियुक्त प्रसाईलाई हटाएर सरकारले एमाले फुटाएर एमाले समाजवादी बनाएका नेता माधवकुमार नेपालनिकट यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

नेता नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाएलगत्तै सरकारले भाग छुट्यायउन थालेको हो। यही क्रममा नेपालनिकट शर्माले नेपाल पक्षबाट पहिलो सरकारी नियुक्त लिने भएका छन्।

उनलाई माधव नेपालले प्रधानमन्त्री भएको समयमा प्रमुख स्वकीय सचिवसमेत बनाएका थिए। उनी पछिल्लो समय एमालेमा विवाद चर्किँदा नेपाल समूहमा सक्रिय थिए।

उनलाई नेपालले राजदूत बनाउन पनि खोजिएको थियो। तर राजदूतमा नियुक्ति खान नसकेका उनी प्रदेश प्रमुख बन्ने भएका छन्।

यसअघि ओलीले झापाको मेची नगर नगरपालिकामा मेयरको चुनावमा पराजित प्रसाईलाई प्रदेश प्रमुख बनाएका थिए। त्यसबेला मेयरमा हारेकालाई प्रदेश प्रमुख बनाएको भन्दै आलोचना पनि भएको थियो।