आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

सभामुखलाई ओलीको प्रश्न- ससद चलाउँने मन छ की छैन ?

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार १९:४३ मा प्रकाशित (३ साल अघि) ३०८ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदमा गरिएको कारबाहीलाई कार्यान्वयन नगरेको भन्दै सभामुख अग्नि सापकोटाप्रति आक्रोश पोखेका छन्।

गत वैशाख २७ गते आफूले विश्वासको मत लिँदा ह्वीप उलंघन गरेका १४ सांसदलाई पदमुक्त गर्ने आफ्नो निर्णय कार्यान्वयनमा ढिलाइ गरेको प्रति ओलीले सभामुख सापकोटाको चर्को आलोचना गरेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ‌ओलीले माधवसहित १४ जनालाई सांसद पदबाट गरेको निष्कासनको दुई दिन बितिसक्दा पनि सूचना नटाँसेपछि सभामुख सापकोटालाई प्रचण्डको कार्यकर्ताको संज्ञा दिएका छन्।

यदि सभामुख पदमा रहेर निष्पक्ष काम गर्न नसक्ने हो भने सापकोटाले उक्त पद छाडेर जानु पर्ने पनि ओलीले बताए। एमाले फुटेको भोलिपल्ट न्यूज एजेन्सी नेपालसँगको अन्तरवार्ताका क्रममा उनले सभामुखले आफूलाई माओवादी कार्यकर्ताभन्दा माथि उठाउन नसकेको पनि बताए।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टोपबहादुर रायमाझीसहितका सांसदहरुलाई हिजो निष्कासन गर्दा सभामुखले त्यो निर्णय तत्कालै संसदमा सुनाउनु भएको धेरै भएको छै, उनले भने, तर एमालेको निर्णयमा भने ७२ घण्टा हुन लाग्दा पनि उहाँ के हेरेर बस्नु भएको छ? एमालेले ह्विप नमान्ने सांसद हटाएको सूचना किन अझै पनि नटाँस्नु भएको?’

ह्विप नमानेपछि दलले कारवाही गरेको २४ घण्टाभित्र सभामुखले सूचना टाँस्नु पर्ने या संसदमा जानकारी गराउनुपर्ने प्रावधान रहे पनि सापकोटाले त्यसलाई लत्याएको ओलीले बताए। दलले निर्णय गरेपछि सभामुखले तत्कालै कार्यान्वयन नगरेर न्यायाधीश बनेर फैसला गर्न खोजेको आरोप पनि ओलीले लगाएका छन्।

‘हामीले गरेको कारबाहीमा कागजपत्र गर्ने छानबिन गर्ने भनेको मैले पनि सुनेँ। हामीले गरेको कारबाही सभामुखले थपक्क कार्यान्वयन गर्ने हो। सभामुख न्यायाधीश होइन, उनले भने, सभामुखले यसबारे छानबिनका नाममा न्यायाधीशले जस्तो फैसला सुनाउने होइन। दलले कारबाही गरेपछि निष्कासनको सूचना टाँस्ने हो।

ओलीले सापकोटा न्यायाधीश नै बन्न खोजेको पनि आरोप लगाएका छन्। सभामुख न्यायाधीश हुन खोज्ने होइन। पदीय मर्यादा विपरीत माओवादी कार्यकर्ताका रुपमा एमालेविरुद्ध काम गर्न खोजे, उनले भने, एमाले फुटाउने षडयन्त्रमा पनि सभामुख सामेल भएका छन्। एमालेको निर्णय कार्यान्वयन गर्न किन ढिला ? अझै केलाई पर्खिएका हुन्, हाम्रो निर्णय २४ घण्टामा किन कार्यान्वयन भएन ?

ओलीले एमालेको असहयोग भएको अवस्थामा सभामुखलाई समस्या पर्ने पनि चेतावनी दिए। उनले सापकोटालाई दलको कार्यकर्ता नभइ संवैधानिक मर्यादा अनुसार सभामुख भएर काम गर्न पनि आग्रह गरे।

‘एमालेको निर्णय कार्यान्वयन गर्न उहाँले त्यसबारेको सूचना टाँस्नै पर्छ। सापकोटाले यसलाई किन रोकिरहेका छन्? उनले संसद चलाउने या नचलाउने सोच्नुपर्छ, ओलीले भने, यदि संसद चलाउने हो भने माओवादी कार्यकर्ता भएर होइन सभामुख नै बनेर यो निर्णय कार्यान्वयन गर्नुपर्छ। यदि निष्पक्ष भएर काम नगर्ने हो भने सभामुख पदमा नबसे हुन्छ। माओवादी कार्यकर्ता भएर सभामुख पदको मर्यादा जोगिदैन। यो उहाँले सोच्ने कुरा हो।