आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार होइन : शेखर कोइराला

गोकर्णेश्वर खबर२ भाद्र २०७८, बुधबार ०९:१३ मा प्रकाशित (३ साल अघि) १९८ पाठक संख्या

काठमाडौं । सत्तारुढ दल कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन् । उनले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनस् त्यही अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा संचारकर्मीसँग नेता कोइरालाले भने-,तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले विरोध गर्‍यो तर अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहोर्‍याउन मिल्छ ?

चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार नभएको कोइरालाले टिप्पणी गरे । ‘सरकारले संसद्लाई बलियो बनाएर अघि बढ्नुपर्ने अवस्थामा हठात् संसद् अन्त्य गरेर अध्यादेशमार्फत देश चलाउनु आवश्यक छ ?’ उनले भने ।

सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर हुने नेता कोइरालाको भनाइ थियो । सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको उनले बताए ।

हालै लामो समय पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा कुनै चर्चा नगरेको उनले सुनाए । पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउनु उचित नभएको उनको भनाइ थियो ।