आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्दार गर्न तरुण दलको आग्रह,सरकारद्धारा उच्चस्तरीय कार्यदल गठन

गोकर्णेश्वर खबर३१ श्रावण २०७८, आईतवार २२:१३ मा प्रकाशित (३ साल अघि) २१७ पाठक संख्या

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न नेपाल तरुण दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

अफगानिस्तानको विद्रोही संगठन तालिबानले अफगानिस्तानको राज्यसत्ता कब्जा गर्ने थालेसँगै त्यहाँ विभिन्न काम, पेशा र व्यवसायका कारण रहेका नेपाली नागरिकहरुलाई तत्काल स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।

तरुण दल अध्यक्ष जित जङ्ग बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘द्वन्दरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई तत्काल उक्त मुलुक छाड्न र विपत्तिमा परेका नागरिकहरुलाई सरकार आफैले स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न एवं उनीहरुको जीवन रक्षा गर्नको निम्ति संवेदनशील भईदिन नेपाल तरुण दल केन्द्रिय समिति नेपाल सरकार संग हार्दिक आग्रह गर्दछ ।’

तरुण दलले अघि भनेको छ- ‘तालिबानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गर्ने सम्भावना बढे संगै त्यहाँ विभिन्न काम, पेशा र व्यवसायका कारण रहेका नेपाली नागरिकहरुको सुरक्षाको जोखिम बढेको छ । तालिबानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठुलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गर्न नेपाल तरुण दल केन्द्रिय समिति यसै विज्ञप्ती मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको जनाइएको छ ।

तालिवान लडाकुले अफगानिस्तानको राजधानी शहर कावुल कब्जा गर्ने निश्चित प्रया भएसँगै अफगानि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

यता परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ। उनीहरूको उद्धारका लागि सम्पर्कमा आउन मन्त्रालयले आइतबार आग्रह गरेको हो।भाइबर र ह्वाट्सएपमार्फत समेत सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

जसका लागि ९७४९३२६४५८ कन्सुलर सेवा विभाग र ९७४९३२६४५९ परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन पहल गरिरहेको मन्त्रालयले जनाएको छ।

उद्धार तथा सुरक्षित स्थानमा राख्नका लागि सरकारले मित्र राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघका कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ। सरकारले नेपालीहरूको उद्धारका लागि उच्चस्तरीय कार्यदल पनि गठन गरिसकेको छ।