काठमाडौं । पार्टीको १४औं महाधिवेशन गर्ने कार्यतालिका फेरि परिवर्तन हुने निश्चित देखिएपछि सत्तारूढ नेपाली कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरू पनि छलफलमा जुटेका छन्।
निर्धारित कार्यतालिका (भदौ १६–१९) मा महाधिवेशन सम्पन्न गर्ने तयारी नगरेको आरोप लगाउँदै कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाविरुद्ध काठमाडौंमा भेला गरेपछि उनीहरूले त्यसविरुद्ध ‘काउन्टर’ भेला गर्न लागेका हुन्।
त्यसका लागि काठमाडौं उपत्यकामा उपलब्ध देउवापक्षीय जिल्ला सभापतिहरू ललितपुरको एक होटलमा भेला भइरहेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरूले समयमा महाधिवेशन नहुनुमा सभापति देउवालाई मात्रै दोष लागएपछि आफूहरू त्यसको प्रतिवादस्वरूप छलफलमा जुटेको कांग्रेसका एक जना जिल्ला सभापतिले जानकारी दिए।
‘रामचन्द्र दाइनजिक भनिएका साथीहरूले भेला गरेर महाधिवेशन नहुनुमा शेरबहादुर दाइलाई मात्रै दोषी भएजस्तो गर्नुभयो,’ उनले भने, ‘तर, महाधिवेशन नहुनुमा रामचन्द्र दाइ पनि उत्तिकै दोषी हुनुहुन्छ। उहाँले सात जिल्लाका क्रियाशील सदस्यता र पार्टी समायोजनमा बखेडा झिक्नुभएको छ। त्यो प्रमाणित गर्न हामी छलफलमा जुटेका हौं।’
सभापति देउवाको ‘डिफेन्स’ गर्नु नै आफूहरूको मुख्य उद्देश्य भएको उनको भनाइ छ।
‘शेरबहादुर दाइको डिफेन्समा हो। रामचन्द्र दाइको समूह बखेडा झिक्ने अनि शेरबहादुर दाइलाई मात्रै दोष दिन मिल्छ,’ उनले भने।
यसअघि गत सोमबार र मंगलबार पौडेल समूहका सभापतिहरू ठमेलको एक होटलमा भेला भएका थिए। उनीहरूले पौडेल समूहका सबै शीर्ष नेताहरूलाई बोलाएर भेलाको समापन गरेका थिए।