आज: १८ फाल्गुन २०८१, आईतवार | Sun, 02, Mar, 2025

सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको छ : ओली

गोकर्णेश्वर खबर२६ श्रावण २०७८, मंगलवार १४:२७ मा प्रकाशित (३ साल अघि) १६८ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन्।

असामान्य ढंगले सरकार परिवर्तन भएको ओलीको भनाइ छ।

आज प्रतिनिधि सभामा बोल्दै ओलीले सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको पनि बताए।

‘सत्ता गठबन्धनका मित्रहरू असाध्यै हौसिनुभएको छ, केटाकेटी आँगनमा नाचेजस्तो नाच्नै ठिक्क। एक महिनासम्म बधाई र शुभकामना खुब चलेको छ। दशैं आएजस्तै भएको छ,’ ओलीले भने।

सरकारले एक महिनासम्म केही काम नगरेको ओलीको आरोप छ। तर सरकारले भूमि आयोग खारेज गरेकोमा भने ओलीले असन्तुष्टि जनाएका छन्।

‘सरकारले केही गरेको छ, भूमि आयोग विघटन गरेर घाँटी सेर्ने काम भएको छ,’ उनले भने। सर्वोच्चबाट प्रतिनिधि सभा पुनर्स्थापना हुँदै कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार बनेको थियो।

ओलीले असाधारण मतसहित फेरि आफू आउने बताएका छन्। उनले लोकतान्त्रिक प्रणालीका संस्थाहरू मर्यादामा बसेर काम गर्नुपर्ने पनि बताए।

उनले सत्ता गठबन्धनको भने आलोचना गरेका छन्। भद्दा र स्वार्थहरूको गठबन्धनतर्फ देश गएको र यसले विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने ओलीको दाबी छ।