आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

बेलका नगरपालिकाले ६० लाख खर्चेर बनायो सुंगुरको मूर्ति

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार ११:३५ मा प्रकाशित (३ साल अघि) ३९७ पाठक संख्या

काठमाडौं । २०७४ मा स्थानीय सरकार बनेपछि देशभरि ठाउँ ठाउँमा सोही ठाउँका विशेषताअनुसार विभिन्न कुराका मूर्ति ठड्याइएका छन्।

कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ करूवाका मूर्ति ठड्याइएका छन्। हालसालै उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति बनाएको छ।

बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा बनाइएको उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट छ।

नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ।

‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो। दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर थापाले भने,‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं। ’

सुंगुरको यो मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको उनले बताए। अहिले धनु याख्खा कलाकारले उक्त मूर्ति बनाइराखेका छन्।

‘अहिलेचाहिँ मूर्तिको मात्र काम भइरहेको छ। पार्कका लागि थप २० लाख बजेट छुट्याइएको छ। त्यसको ठेक्काको काम बाँकी छ,’ मेयर थापाले भने।

वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र राईले मेयर थापाकै अवधारणअनुसार सुंगुरको मूर्ति बनाइएको हो।

‘मैनामैनी पर्यटकीय हिसाबले धेरै सम्भावना भएकाले अरू के गर्न सकिन्छ भनेर छलफल गर्दा यस ठाउँबाट बराह (बँदेल) हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती रहेछ। सोही अनुसार बराहको मूर्ति बनाउने कुरा भएको हो,’ उनले भने।