आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा दिपेन्द्र लामाको दावी

गोकर्णेश्वर खबर८ श्रावण २०७८, शुक्रबार ०६:५६ मा प्रकाशित (३ साल अघि) १४१० पाठक संख्या
८  साउन, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा दिपेन्द्र लामाले दावी गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समेत रहेका लामाले क्षेत्रीय सभापतिमा दावी गरेका हुन् ।
लामाले ३५ वर्ष भन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आबद्ध भएर विभिन्न जिम्बेवारीहरु सफलतापूर्वक निर्वाह गरेकोले क्षेत्रीय सभापतिका लागि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तकले अगाडी बढ्न आग्रह गरेको गोकर्णेश्वर खबरलाई बताए ।
उनले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई युवा पुस्ताप्रतिको भरोसा र विश्वास बोकेर परिवर्तनको संवाहक बनेर उम्मेदवारी घोषणा गरेको दावि गरेका छन् । लामाले भनें ‘अहिले देशमा परिवर्तनको लहर चलिरहेको सन्दर्भमा नेपाली कांग्रेसमा पनि युवा नेतृत्वको माग र खोजी बढिरहेको छ । मलाई क्षेत्रीय सभापतिका रुपमा अगाडी बढ्न धेरै आग्रह आएको छ । अग्रजहरुकै आग्रह स्विकार्दै सभापतिमा अगाडी बढ्दैछु । ’ लामो समयदेखि पार्टीमा विभिन्न जिम्बेवारी लिएर काम गरेकोले आफूले सबैपक्षलाई समेटेर लैजाने बताउँदै लामाले क्षेत्रीय सभापतिमा दावी गरे पछि पाएको सकारात्मक प्रतिक्रियाले आफू झन् उत्साहित भएको बताए ।  उनले क्षेत्रका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तकहरुसँग सल्लाह गरेर पार्टी संगठनलाई अगाडी बढाउन आफूले क्षेत्रीय सभापतिमा उम्मेदवारी दावी गरेको बताए ।
उनले विगतमा पार्टी, भातृसंगठनका विभिन्न अंगहरु नेविसंघ, जनजाति विभाग, उपत्यका समन्वय समितिमा रहेर काम गरिसकेको, बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षको रुपमा सफलतापूर्वक कार्य गरिसकेको, वडा अध्यक्षको रुपमा गरेका कामहरुको अनुभव, स्थानीय चुनावमा पाएको सफलता तथा विकास निर्माणमा लिएको अग्रसरता जस्ता विविध पक्षले आफूलाई क्षेत्रीय सभापतिको बलियो दावेदार बनाएको बताए ।
लामाले ८ औं महाधिवेशन देखि प्रत्येक पटक प्रतिनिधि छनौट भएर गए पनि यस पटकबाट माथिल्लो तहमा प्रतिनिधित्वका लागि आफू सक्रियताका साथ अगाडी बढ्ने बताए । उनले आफूलाई विश्वास गर्ने आम अग्रज नेता, कार्यकर्ता, शुभचिन्तकहरुलाई निराश नबनाई समग्र क्षेत्रकै विकासमा समर्पित रहने बताए । उनले सबैलाई समेटेर परिवर्तन अनुभुती हुनेगरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।