आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

कोरोनाविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते बेइजिङ जाने

गोकर्णेश्वर खबर१८ असार २०७८, शुक्रबार १४:२१ मा प्रकाशित (३ साल अघि) ९१२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ।

सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी बिहीबार खोप लिन चीन जाने गरी तयारी गरेको बताए।

असार २४ गते बेइजिङ जाने तयारी गर्दैछौं। अहिलेलाई १० लाख डोज भन्ने कुरा छ। तर यसपटक तौललाई अलिक व्यवस्थापन गरेर धेरै अटाउने भन्ने पनि कुरा छ। त्यो भयो भने दुईचार लाख डोज बढी ल्याउन सकिन्छ, पौडेलले भने।

उनले खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किने बताए। चीनबाट ल्याउन लागिएको उक्त खोप नन डिस्क्लोजर एग्रिमेन्ट अन्तर्गत ल्याउन लागिएको हो। जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन।

नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नन डिस्क्लोजर एग्रिमेन्ट अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो। अब आउने खोप कसलाई लगाउने भन्नेबारे तय भइसकेको छैन।

यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ। जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ।