आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

‘फ्रन्टलाइनर’ को सम्मानमा कोरिएका चित्र महानगरले मेटेपछि कांग्रेसले जनायो आपत्ति,कला र कलाकारको अपमान!

गोकर्णेश्वर खबर१७ असार २०७८, बिहीबार २०:०६ मा प्रकाशित (३ साल अघि) ४१५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीविरूद्ध अग्रमोर्चामा खटिएका चिकित्सक लगायतको सम्मानमा काठमाडौंको रत्नपार्क क्षेत्रका भित्तामा कोरिएका चित्र मेट्ने कार्य कला र कलाकारको अपमान भएको टिप्पणी गरेको छ।

डुजाङ शेर्पालगायतले अग्रमोर्चामा खटिएकाको सम्मानमा वडा कार्यालयबाट अनुमति लिएर चित्र कोरेका थिए। उक्त चित्र महानगरले मेटाइदिएपछि आलोचना भइरहेको छ।

उक्त चित्र कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले कोरेका थिए।

‘स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौंको एक पर्खालमा निर्माण गरिएको थियो। युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति निकालेर भनेका छन्।

साथै प्रवक्ता शर्माले काठमाडौंको अनेक स्थानमा थुप्रिएका फोहोरले सहरको सौन्दर्यमा असर गरेको पनि उल्लेख गरेका छन्। तर उक्त चित्रले सौन्दर्भमा असर नगरेको शर्माको भनाइ छ।

शेर्पाले करिब एक लाख रूपैयाँ खर्च गरी उक्त चित्र कोरेका थिए। आफूहरूले वडा कार्यालयबाट अनुमति लिएर चित्र कोरे पनि एकपटक पनि जानकारी नदिई चित्र मेटाइएको शेर्पाले बताए।