आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद गुम्यो

गोकर्णेश्वर खबर११ असार २०७८, शुक्रबार ०९:४८ मा प्रकाशित (३ साल अघि) ५०३ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

त्यसपछि ७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो । सोही दिन माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई पद रिक्त भएको सूचना जारी गर्न ताकेता गरेका थिए ।

यी हुन्, कारबाहीमा परी हटेका जनप्रतिनिधि, जुन स्थान रिक्त भए ः

१‍. प्रमुख रिनाकुमारी साह, मौलापुर नपा, रौतहट

२. प्रमुख सियाराम कुशवाहा कटहरिया नपा, रौतहट

३. उप्रमुख परनियादेवी, देवाही गोनाही नपा, रौतहट

४. उप्रमुख गौरिशंकर प्रसाद, मैलापुर नपा, रौतहट

५. उप्रमुख कान्तिदेवी फतुवाविजयपुर नपा, रौतहट

६. उपप्रमुख सिमल कुमारी साह, माधवनारायण नपा, रौतहट

७. उपाध्यक्ष गीतादेवी साह, यमुनामाई गापा, रौतहट

८. नगर कापा सदस्य सतमीलाल दास, ताती लहान नपा, सिरहा

९. अध्यक्ष शेष फारुक सम्सी गापा, महोत्तरी

१०. उपप्रमुख छायादेवी देवकोटा भजनी नपा, कैलाली

११. वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा, नपा–४, कैलाली

१२. वडाध्यक्ष शर्मानन्द भट्ट, गोदावरी नपा–१, कैलाली

१३. वडाध्यक्ष पुरन बीसी, बर्दगोरिया नपा–४, कैलाली

१४. वडाध्यक्ष सुरेशकुमार थापा, चम्पादेवी गापा–७, ओखलढुंगा