जनकपुरधाम । मधेशको राजनीतिमा अवसरवाद र मधेशवादको कुरा बेलाबेला जोडतोडले उठ्ने गर्छ।
मधेशी नेताहरुले अवसरवादी भन्दै एकअर्काप्रति आरोपप्रत्यारोप मात्र होइन कतिपय अवस्थामा अभद्र गालीगलौजमा समेत उत्रिन्छन्। तर अवसर जब सत्ता र पदको आउँछ तिनै अवसरवादी भनेर अरुलाई गाली गर्नेहरु मरिहत्ते गर्छन्।
तराई मधेशका आन्दोलनमा सहादत भएका, घाइते भएका परिवारहरु अवसरबाट बञ्चित छन्। यदि कथम कदाचित दिए पनि उनीहरुको परिवारका सदस्यलाई कार्यालय सहयोगी, खाना पकाउने, सरसफाई गराउने जस्ता काममा जागिर दिन्छन्।
यसको प्रत्यक्ष उदाहरण जनता समाजवादी पार्टी कै सरकार रहेको प्रदेश २ सरकारले सहिद परिवारहरुलाई दिएको जागिरको स्तरले देखाउँछ।
तर त्यहि मधेश आन्दोलन, सहिद घाइतेको नाममा राजनीति गरेर आफूलाई मधेशका मसिहा भन्नेहरु सबभन्दा बढी अवसरको लाभ आफू, आफन्त र आफ्ना नजिकका भन्दा बाहिर जान दिँदैनन्।
यसको पछिल्लो उदाहरण हुन् जसपाका नेता अनिल कुमार झा र उनकी श्रीमती प्रदेश २ सभा सदस्य डा. डिम्पल कुमारी झा।
अनिल झा रौतहट क्षेत्र नं. १ बाट तत्कालिन राजपा नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
तत्कालिन राजपा नेपालको ६ जना अध्यक्ष मण्डलका सदस्य मध्ये एक रहेको उनले आफ्नी श्रीमती डिम्पल झालाई राजपाकै समानुपातिक कोटामा प्रदेश सांसद बनाए।
अहिले श्रीमान श्रीमती दुबै मन्त्री छन्। श्रीमती प्रदेश २ सकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा अनिल झा खानेपानी तथा सरसफाई मन्त्री नियुक्त भएका छन्।
अनिल झाले आफ्नो कोटाबाट श्रीमती डिम्पल झालाई प्रदेश २ को लालवावु राउत नेतृत्वको सरकारमा तत्कालिन राजपा नेपालबाट ९ साउन २०७५ मा भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाएका थिए।
जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्ष आठ मन्त्री र २ राज्यमन्त्रीसहित शुक्रबार सरकारमा सहभागी भएपछि अनिल झा पनि मन्त्री भएका हुन्।
अनिल झा दोश्रो संविधानसभा निर्वाचनताका संघीय सद्भावना पार्टीका अध्यक्ष थिए। त्यति बेला दोश्रो संविधानसभाको निर्वाचनमा आफू प्रत्यक्षतर्फ पराजित भएपछि तत्कालिन संघीय सद्भावना पार्टीबाट एक समानुपातिक कोटामा श्रीमती डिम्पल झालाई संविधानसभा सदस्य बनाएका थिए।
त्यसपछि १८ फागुन २०७१ मा झाले संघीय सद्भावना पार्टीलाई सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीसँग एकता गरी नेपाल सदभावना पार्टी बनाएका थिए। सदभावना पार्टीबाट पहिलो संविधानसभा सदस्य हुँदा उनी उद्योग मन्त्री भएका थिए।