आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

निषेधाज्ञाका कारण विपन्न परिवारको चुल्हो निभ्न थालेपछि वाइसीएलले थाल्यो राहत वितरण

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार २२:२४ मा प्रकाशित (३ साल अघि) ८४१ पाठक संख्या

भक्तपुर – कोरोनाको दोस्रो भेरियन्टका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको करिव १ महिना पुगेको छ । बन्दाबन्दीका कारण बिहान /बेलुका काम गरेर खाने मजदुर तथा विपन्न परिवार यसको प्रत्यक्ष मारमा परेका छन् । यता सरकार भने कोरोना नियन्त्रणको नाममा निषेधाज्ञा बढाउने मात्र ध्याउन्नमा छ । बन्दाबन्दीका कारण गरिब तथा विपन्न परिवारको अवस्था र उनीहरुको समस्यामा मलम लगाउने तीर नभई सत्ता र कुर्चीमै केन्द्रित हुँदा श्रमिक वर्ग पीडामा परेका छन् । सरकार प्रधानमन्त्री कुर्चीको खेलमा दौडिरहेका छन् । मजदुर,गरिब वर्गको चुल्हो कसरी बल्यो होला भन्ने ध्यान यतिबेला सरकार, प्रधानमन्त्रीलाई छैन  ।छ त केवल प्रधानमन्त्री पद जान्छ की भन्ने चिन्ता मात्र । जनतालाई घरभित्र थुनेर सरकार राजनीति खिचातानीमै व्यस्त रहेपनि माओवादी केन्द्र भक्तपुर भने गरिब तथा विपन्न परिवारको चुल्हो बाल्ने अभियानमा जुटेको छ । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी माओवादीले राहत वितरणको कामलाई तिव्रता दिएको हो ।

बुधवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का करिब ३० घरपरिवारका लागि राहत स्वरुप खाद्यान्न् सहयोग गरेको युवा नेता बिनोद लामिछानेले  जानकारी दिए । निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारको पहिचान गरी स्थानीय पार्टी र वाइसिएलको संयोजनमा राहत वितरण गरिएको हो । महामारीबाट  स्थानीय जनतालाई रोग र भोकबाट बचाउने आफूहरुको अभियान नै रहेको नेता लामिछानेले उल्लेख गरे ।

माओवादी केन्द्रका चाँगुनारायण नगर सदस्य एवम वडा नम्बर ८ का अध्यक्ष मदन श्रेष्ठले सरकारले दैनिक ज्यालादारी गरी खाने मजदुर विपन्नको बेवास्ता गरेकोले आफूहरु अघि सर्नु परेको बताए । उनका अनुसार बुधवार वडाका ३० विपन्न परिवारका लागि प्रति परिवार १ बोरा चामल १ प्याकेट दाल, नुन, तेल, चिनी र मास्क लगायत वितरण गरिएको हो ।

राहत वितरणका संयोजकसमेत रहेका चाँगुनारायण ८ का वाइसिएल अध्यक्ष दिपेश लामिछानेले राहत वितरणबाट स्थानीयहरु खुशी भएको बताए ।  आफूहरुले आफ्नो स्वास्थ्यको ख्याल नगरी पार्टीकै साथीभाई मिलेर राहत संकलन र वितरण गरिरहेको भन्दै उनले बिपन्न परिवारमा सानो प्रयासले ठुलो खुशी मिलेकोमा सन्तोष व्यक्त गरे । आफूहरुले सहयोग गर्दा चागुनारायण ८ का ३० घरपरिवारको निभेको चुल्हो बलेको उनको भनाई थियो ।

राहत वितरणमा सहभागी भएका वाइसिएल भक्तपुर जिल्ला अध्यक्ष नरेश वाइवाले पार्टी र संगठनले अप्ठ्यारोमा परेका जनताको आशु पुछ्न पहल गरिरहेको प्रष्ट पारे । उनले राजनीति गर्ने प्रति जनताको अपेक्षा धेरै हुने तर कोभिडमा सरकारले अक्सिजन र अस्पतालको शैया मात्र होइन बाच्नेका लागि दालभातको पनि ग्यारेन्टी गर्न नसकेको आरोप लगाए । सरकारको मुख ताकेर मात्र नभएकाले आफूहरु महामारीकै बीचमा आफ्नो स्वास्थ्यको ख्याल नगरी जनताको लागि खटेको उनको जिकिर छ । अध्यक्ष वाइवाले वाइसिएलले कसैलाई भोको बस्न नदिने बताउदै यस्तो स्थिति भएका परिवारले वाइसिएलका स्थानीय युवाहरु संग सम्पर्क गर्न र सहयोग प्राप्त गर्न पनि आग्रह गरे ।

राहत वितरण कार्यक्रममा मदन ढुंगाना, सानु खत्री,लक्ष्मण दुलाल , जीवन बजगाईं लगायतका स्थानीय युवा नेताहरुको समेत सक्रिय सभागिता रहेको थियो । राहत वितरणका कार्यलाई निरन्तरता दिदैं जाने वाईसिएलले जनाएको छ ।

संकटका बेला संयुक्त प्रयासले जनताको पीडामा मलहम लगाउन सकिने बताउदै माओवादी केन्द्रका भक्तपुर अध्यक्ष डिपी ढकालले सहभागी सबैलाई धन्यवाद दिए । उनले अन्य वडा कमिटीहरुले पनि जनताको दुख हेरेर नबस्न निर्देशन दिइएको र पार्टीले रोग र भोक बाट बचाउन जनपक्षीय कामहरु गरिरहेको जिकिर गरे ।