आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

बागमती सफाइ महाअभियानका ८ वर्ष : नदीमा सङ्लिएन पानी

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १६:३७ मा प्रकाशित (३ साल अघि) २३९ पाठक संख्या

काठमाडौं । प्रत्येक हप्ताको शनिबार निरन्तर बागमती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन ।

बागमती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाएका थिए । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उनीहरुले सुरु गरेको जगमा विसं २०७० जेठ ५ गते पशुपतिको गुह्येश्वरी मन्दिर क्षेत्रबाट बागमती सफाइ महाअभियान सुरु गरिएको थियो ।

महाअभियान सुरु हुँदा सहरी विकास मन्त्रालयको सचिव रहेका किशोर थापा ८ वर्षमा नदी किनारलाई हेर्नलायक बनाउन सकिए पनि पानी स्वच्छ बनाउन नसकिएको स्वीकार्छन् । महाअभियान ८ वर्ष पूरा गरेको अवसरमा बुधबार बेलुकी जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरेपछि फेरि स्नान गर्ने अवसर बागमतीमा नजुटेको बताए । अब टेकुमा स्नानयोग्य पानी बनाउन महाअभियानले सफाइ एवं सरोकार भएका सरकारी निकायलाई दवाव दिन हाल बागमती सफाइ अभियानकर्मीका रूपमा सक्रिय पूर्वसचिव थापाको प्रतिबद्धता छ ।

महाअभियान सुरु गर्नुअघि २०७० जेठ ४ गते दशरथ रङ्गशालामा जागरण फैलाउने उद्देश्यले जागरणमूलक फुटबल आयोजना गरिएको थियो । नागरिकस्तरबाट चलेको यो अभियानमा सरकारी संस्थाले पछाडिबाट सहयोग गरेका छन् । एक हजारभन्दा बढी संस्था सफाइ महाअभियानमा सहभागी भएका छन् । बागमतीबाट प्रेरणा लिएर देशभर १ सयभन्दा बढी स्थानमा सफाइ भइरहेको छ । सफाइबाट हालसम्म २० हजार टनभन्दा बढी फोहर व्यवस्थापन गरिएको छ । फोहर काठमाडौं महानगरपालिका र यस वरपरका नगरपालिकाले व्यवस्थापन गर्दै आएका छन् ।

सफाइका क्रममा बागमती किनारमा छ हजार बिरुवा रोपिएका छन् । सफाइ अभियानकर्मीको जन्मदिनका अवसरमा कार्यक्रम आयोजना नै गरेर वृक्षरोपण गर्ने गरिएको छ । बागमती किनारका सार्वजनिक जग्गाको सदुपयोग गर्न तीन दर्जन उद्यान बनेका छन् । उद्यान बनाउन विभिन्न संघ संस्थाले योगदान गरेका छन् ।

चलचित्र संघ, विज्ञापन संघ, गायत्री परिवार, जीवन विज्ञान, हलेसी डेकोर, यस ट्राभल्सलगायत संघ संस्था एवं कम्पनीले सुरुदेखि नै बागमती सफाइ महाअभियान सहयोग गर्दै आएका छन् । सफाइ महाअभियानले ल्याएको जागरणले फोहर फाल्ने क्रममा कमी आएको पूर्वसचिव थापा बताउँछन् । बागमतीबाट बालुवा चोर्ने क्रमलाई अझै नियन्त्रण गर्न नसकिएको उनी स्वीकार्छन्। “बागमतीको पानीलाई नुहाउन योग्य नभएसम्म महाअभियान रोकिन्न, बागमती किनारका अतिक्रमित जग्गा फिर्ता गर्न सकिएको छैन, नदी किनारका मानिसलाई सफाइमा सहभागी गराउन नसकेकाले अबको कार्यक्रम त्यसतर्फ केन्द्रित हुन्छ”, अभियानकर्मी थापाले भने ।

चक्रपथको २७ किमीमै सफाइ अभियान चलाउनु पनि अबको प्राथमिकतामा राख्न लागिएको महाअभियानले जनाएको छ । अभियानकर्मी राजकुमार भट्टराई ५०औँ हप्तामा गुह्येश्वरीमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायतले स्नान गरेको उल्लेख गर्दै अबका चरणमा पनि विभिन्न स्थानमा नुहाउन सक्ने गरी सफाइलाई अघि बढाइनुपर्ने बताउँछन् ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधलाई जिम्मेवार बनाएर नदीलगायत सार्वजनिक स्थल सफा राख्न दबाबमूलक अभियान चलाउन पहिलो प्राथमिकता दिने योजना बनाइएको छ । ढल व्यवस्थापन छिटो गरेर नदीलाई स्वच्छ बनाउन पनि सरोकार भएका सरकारी निकायसँग समन्वय गरेर काम गरिने महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौड्यालले बताए । पुरातात्विक सम्पदाको संरक्षण गर्ने, भविष्यको नेपाल, सफा, सुन्दर स्वच्छ बनाउन सफाइ महाअभियानले देशव्यापी जागरण फैलाउने जनाएको छ ।

जुम कार्यक्रममा अभियानकर्मी प्रिया लामिछाने, मनोहरा संयोजक चन्द्र दङ्गाल, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, बागमतीको तिलगङ्गा संयोजक आशा पाण्डे, चक्रपथको दक्षिण–पश्चिम खण्ड संयोजक ताराबहादुर कुँवर, गुह्येश्वरीमाथिको बागमती खण्डका संयोजक उत्तम पुडासैनीलगायतले महाअभियान नवौँ वर्ष प्रवेशसँगै नयाँ गतिका साथ सफाइ अभियानलाई अघि बढाइने प्रतिबद्धता जनाए । रासस