आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १६:२९ मा प्रकाशित (३ साल अघि) ४०६ पाठक संख्या

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

संघले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको हो । सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गरे । नेपालका विभिन्न स्थानहरुमा वितरण गर्न दाताहरुको अनुरोध सहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष पन्तले कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताए । संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको उनको भनाई छ ।