आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

प्रधानमन्त्रीले भने- क्विक रेस्पोन्स टिम बनाउनुस्, पैसाको अभावमा कसैको ज्यान नजाओस्

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार १६:१२ मा प्रकाशित (३ साल अघि) ३३४ पाठक संख्या

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने सरकारले निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको हो । ‘त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्नेछौं ।’ उनले भने ।

खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीको भनाई छ । ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं ।’

सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुपर्‍यो । पैसाको अभावले कसैको ज्यान जान हुँदैन’, प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने ।