काठमाडौं । पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आज पद तथा गाेपनीयताको शपथ लिने भएका छन् ।
शपथको तयारी आज दिउँसो २ बजे शितल निवासले गरेको छ । विपक्षी कुनै दलले बहुमत जुटाउन नसकेपछि संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा पुनः केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइएको हो । संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन्।
गत सोमबार संसदमा विश्वासको मत माग्दा बहुमत प्राप्त हुन नसकेपछि ओली पदबाट हटेका थिए । त्यसपछि राष्ट्रपति संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन ३ दिन अर्थात् हिजो बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन् ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरे पनि समयसीमाभित्र बहुमत जुटाउन सकेनन्। जसले गर्दा प्रधानमन्त्री चयनको प्रक्रिया अर्को चरणमा प्रवेश गरेको हो।