आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद हेरफेर गर्दै : दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १५:२१ मा प्रकाशित (३ साल अघि) ४८५ पाठक संख्या

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरेका छन् । उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने स्रोतको भनाइ छ ।
त्यस्तै वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको स्रोतको भनाइ छ । यद्यपि अहिलेसम्म उनीहरुले राजीनामा दिइसकेका छैनन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।