आज: १२ माघ २०८१, शनिबार | Sat, 25, Jan, 2025

भारतमा पछिल्लो २४ घण्टामा ३,४१७ जना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार १५:२२ मा प्रकाशित (३ साल अघि) २४४ पाठक संख्या

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ ।

गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ ।

पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ ।

भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ ।

कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।