आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

पञ्जाबसँग बेंगलोर ३४ रनले पराजित

गोकर्णेश्वर खबर१८ बैशाख २०७८, शनिबार ०८:४७ मा प्रकाशित (३ साल अघि) २५३ पाठक संख्या

काठमाडौं । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कप्तान केएल राहुलको उत्कृष्ट ब्याटिङ र हरप्रित ब्रारको अलराण्ड प्रदर्शन मद्दतमा पञ्जाब किंग्स विजयी भएको हो ।

यस जितपछि पञ्जाब ७ खेलबाट ६ अंकसहित तालिकामा पाँचौ स्थानमा उक्लेको छ । हारले बेंगलोरको शीर्ष स्थानमा उक्लने मौका गुमेको छ ।

अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ओपनर राहुलको अविजित ९१ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको थियो । राहुलले ५७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि क्रिस गेलसँग ८० रनको साझेदारी गरे । गेलले २४ बल खेल्दा ६ चौका र २ छक्का मद्दतमा ४६ रन जोडे ।

यस्तै राहुल र हरप्रित ब्रारले छैटौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । ब्रारले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २५ रन बनाए ।

बेंगलोरका केल जेमिसनले २ तथा ड्यानिएल साम्स, युजभेन्द्र चेहल र शहबाज अहमेदले १,१ विकेट लिए ।

१८० रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रजत पाटिदार र हर्शल पटेलले समान ३१ रन जोडे । केल जेमिसन १६ रनमा अविजित रहे । बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे ।

पञ्जाबका हरप्रितले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए । खेलको ११औं ओभरको पहिलो बलमा बेंगलोरका कप्तान विराट कोहलीलाई बोल्ड गरेका उनले लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेललाई बोल्ड गरेका थिए । यस्तै १३औं ओभरमा उनले ए बी डे भिलियर्सलाई कप्तान राहुलबाट क्याचआउट गराएका थिए ।

पञ्जाबका लागि रवि बिश्नोईले २ तथा रिले मेरेडिथ, मोहम्मद शामी र क्रिस जोर्डनले १,१ विकेट लिए ।