आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

उपत्यका छाड्नेलाई दुई दिन मौका

गोकर्णेश्वर खबर१३ बैशाख २०७८, सोमबार १६:३२ मा प्रकाशित (३ साल अघि) ८१८ पाठक संख्या

काठमाडौं । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण आएसँगै संक्रमणदर बढ्दै गएको छ । यसबीच कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कडाई गर्ने सरकारको तयारी रहेको छ ।

काठमाडौं उपत्यकमा एक सता लकडाउन गर्ने प्रस्तावसमेत भएको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि राजधानी उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको हो ।

गृहमन्त्रालयमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको निर्णय गरेपनि यसको कार्यान्वयन मन्त्रिपरिषद् बैठकपछि मात्र हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको भनाई छ ।

पराजुलीले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसावले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।’

कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन गर्नेगरी माथिल्लो निकायमा सिफारिस गरिएको उनको भनाई छ ।